काठमाडौं । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदैछन् । उनी मङ्सिर २३ गते कतार जान लागेका हुन् ।
यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।
त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।
मन्त्री साउदले आज (बुधवार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् ।
कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
