काठमाडौं । प्रहरीको एउटा नारा छ ‘जिब्रोको गरिमा, मिठो बोलीमा’ । यसको तात्पर्य हो मिठास शैलीमा सर्वसाधारणसँग कुरा गर्नु । यो नारा सम्पूर्ण प्रहरी कार्यालयहरुमा लागू गर्न प्रहरी महानिरीक्षकको समेत निर्देशन छ ।
तर, केही प्रहरी अधिकारीको कारण सिंगो प्रहरी संगठन बद्नाम हुने गरेको छ । सोमबार त्यस्तै घटना भयो, एकजना सिनियर प्रहरी अधिकृतले सर्वसाधारणलाई गाली गरेको भिडिओ भाइरल भएपछि संगठनकै बद्नाम भएको आभाष हुन्छ ।
सामाजिक सञ्जालमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) तिलक बहादुर बमले सर्वसाधारणलाई थप्पड हानेको भिडियो भाइरल भएको छ । थप्पड मात्र होइन ‘तँ तँ र म म’ गर्दै गाली समेत गरेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा सर्वसाधारणलाई इन्स्पेक्टर बमले थप्पड हान्दै ‘अपशब्द’ बोलेका हुन् ।
इन्स्पेक्टर बमले प्रदर्शनमा सहभागी नभएको तथा घर हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हानेको भिडियोमा देख्न देखिन्छ । जसको कारण प्रहरी संगठन नै विवादमा तानिएको छ ।
नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्– ‘चुप, बढ्ता नबोल’ । थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्– ‘हात किन छाड्नु भो सर ?’
यति भन्दासम्म पनि इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्– ‘किन बोल्या ?’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
यस विषयमा प्रहरी प्रवक्ता एवं नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतले यस विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौं अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘बाँकी कुरा उतै सोध्नुहोला ।’
