काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले I Dare No Drugs ‘म हिम्मत गर्छु, ड्रग्स सेवन गर्दिन’ अभियान सञ्चालनमा ल्याएको छ । उदयपुर प्रहरीले गत शनिबारदेखि यो अभियान सञ्चालनमा ल्याएको हो ।
लागू औषधको कुलतमा परी सुरूवाती चरणमा रहेकाहरूलाई माया, हेरचाह तथा मनोपरामर्शको माध्यमबाट पुन सामाजिकीकरण गर्ने उदेश्यले यो अभियान सुरु गरिएको प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको अभियान आफ्नो जिल्लाका सम्पूर्ण ठाउँहरुमा सञ्चालन गरिले एसपी थापाले बताए । शनिबारको कार्यक्रम त्रियुगा नगरपालिकाको सहकार्यमा भएको थियो ।
एसपी थापाका अनुसार यो अभियानमा हालसम्म कुलतमा फसेका ५२ जनालाई कुलत छोड्नपर्छ र सकिन्छ भन्ने दृढ इच्छा शक्ति जगाउने अनुशिक्षण दिइएको छ ।
यो अभियानले कुलत छोड्न आत्मबल जगाउने, समाजमा कुलत छोडन प्रहरी, समाज, परिवार र स्थानीय तहको साथ सहयोग रहने र कुलतमुक्त भएपछि वैकल्पिक अवसरमा जोडाउने योजना कार्यक्रमले समावेश गरेको एसपी थापाले बताए ।

कार्यक्रममा पहिला दुर्व्यसनीमा परेर छुटेका व्यक्तिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । उहाँहरुले दुर्व्यसनीको समयमा आफूले भोगेको समस्याबारे र छोड्न सकिँदो रहेछ र त्यसपछिको सुखद जीवनका बारेमा प्रशिक्षण दिएका थिए ।
जसले गर्दा प्रयोगकर्ताहरुलाई कुलत छोड्ने आत्मबल र प्रेरणा पुगेको एसपी थापाले बताए । कार्यक्रममा उपस्थिति प्रयोगकर्ताहरुले अब कहिले पनि लागूऔषध सेवन नगर्ने दृढता समेत व्यक्त गरी हस्ताक्षर समेत गरेका थिए ।
कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, प्रजिअ जनार्दन गौतम, जिल्ला न्यायधिवक्ता उत्तम श्रेष्ठ, जिल्ला अस्पताल उदयपुरका डा. निर्मला चौधरी र अभिभावकले समेत कुलत छोड्न सकिन्छ र यो छोड्न परिवार समाज स्थानीय तहले साथ दिने भन्ने सन्देशमूलक मन्तव्य दिएका थिए ।
त्यस्तै त्रियुगा संगीत विद्यालयका संचालन शैलेन्द्र खतिवडा, परामर्शदाताहरु एवं अभियन्ताहरु, सञ्चारकर्मीहरु लगायत लागू औषध सेवनकर्ता र निजहरुको अभिभावकको समेत कार्यक्रममा उपस्थिति रही दुर्व्यसनीहरूलाई प्रेरणा जगाउने भनाइ र प्रस्तुती दिएका थिए ।



