काठमाडौं । नेपाली सेनाका दुईतारे जर्नेल अशोक सिग्देलविरूद्ध रक्षा मन्त्रालयमा उजुरी परेको छ । सिग्देल उपरथीबाट रथी बढुवाको लागि सिफारिस भएका छन् ।
भावी प्रधानसेनापतिका रुपमा हेरिएका दुईतारे जर्नेल सिग्देलको नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममितिबारे विवाद छताछुल्ल भएपछि आइतबार मन्त्रालयमा उजुरी परेको हो ।
उजुरीमा सिग्देलले नेपाली सेनाको नेतृत्व हत्याउनकै लागि शैक्षिक प्रमाणपत्र र नागरिकता कीर्ते गरेको खुलाइएको छ । सिग्देलविरूद्ध मन्त्रालयमा उजुरी परेपछि रक्षामन्त्री पूर्णबहादुर खड्काले चासो व्यक्त गरेका छन् ।
रक्षामन्त्री खड्काले केही रक्षाविज्ञहरूसँग संवाद गरिरहेको स्रोत बताउँछ । यसअघि जन्ममिति कीर्ते प्रकरणमा फस्ने डरपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । ‘पाण्डेकै शैली’मा छानबिन हुनुपर्ने माग गरिएको छ ।
सिग्देलविरूद्ध रक्षा मन्त्रालयमा स–प्रमाण शैक्षिक प्रमाणपत्रमा १९ माघ २०२१ जन्ममिति रहेको र नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याइ भावी प्रधानसेनापति बन्न खोजेको ब्यहोरा उल्लेख गरिएको छ ।
सिग्देलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
