चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्टमा गत बुधबार जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फालिएको अवस्थामा भेटिएको दुईवटा शवको हालसम्म पनि पहिचान हुन सकेको छैन ।
कल्भर्टमुनि शङ्कास्पद अवस्थामा एक महिला र एक पुरुषको शव भेटिएपछि चितवन प्रहरीले ७७ वटै जिल्लामा हुलिया परिपत्र गर्दासमेत हाल सम्म सनाखत हुन नसकेको जनाएको छ ।
अहिलेसम्म पनि मृतकको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको शरिरमा रहेका चिजवस्तु, चिन्ह तथा कपडाहरुबाट सनाखत हुनसक्ने भन्दै उक्त चिजवस्तु, चिन्ह तथा कपडाको फोटो हेरी चिन्नका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले हुलियाको आधारमा शव पहिचान गर्ने जो कोहिले नजिकको प्रहरी कार्यालय तथा चितवन प्रहरीको सम्पर्क नम्बर ९८५५०९०१३३ मा फोन सम्पर्क गरी अनुसन्धानमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
प्रहरीले सार्वजनिक गरेको चिजवस्तुमा मृतक पुरुषको शरीरमा SUPER DRY लेखिएको निलो रंगको कट्टु थान १, DURO 80 DOUBLE लेखिएको कलेजी रंगको पेन्टी थान १ र RUPA FRONTLINE साईज 80 CM लेखिएको सेतो रंगको सेन्डो थान १ भेटिएको छ ।
त्यस्तै महिलाको शरीरमा SIZE L लेखिएको प्याजी रङ्गको लेगिन्ज थान १, सल (रातो र पहेलो रङ्ग मिसिएको र रातो रङ्गको) थान २, माला (रातो डोरासहित) थान १ (एकापट्टि दुर्गा माता र अर्कोपट्टि मन्दिर जस्तो देखिने फोटो भएको), कानको झुम्का थान २, बाँया हातमा A, M र Y (अस्पष्ट ) जस्तो र S स्पष्ट लेखिएको र चित्र आकार भएको ट्याटु, पेन्टी रातो वा कलेजी रंगको थान १, ब्रा सेतो बुट्टा भको पहेंलो रंगको थान १ र टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको थान १ भेटिएको छ ।
