काठमाडौं । सम्पर्कमा नरहेका प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क हुन नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै सम्पर्कमा नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।
गैरहाजिर हुनेमा प्रहरी हवल्दार, सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन् । प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ४ जना, प्रहरी जवान १७ जना र प्रहरी कार्यालय सहयोगी ३ जना गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ । ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयको चेतावनी छ ।
यसरी प्रहरी कर्मचारीहरु गैरहाजिर हुनुको कारण थोरै तलब, समयमै बढुवा नहुँदा हो । त्यसैले पछिल्लो समय प्रहरीमा जागिर छोड्नेको संख्या दिन प्रतिदिन बढ्दोछ ।
यता, १ असोजदेखि आफूखुसी गैरहाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अहिलेसम्म सम्पर्कमा आएका छैनन् । विश्वस्त स्रोतका अनुसार उनी विदेश पलायन भइसकेका छन् ।
गैरहाजिर भएपछि गृह मन्त्रालयले ८ मंसिरमा भट्टराईलाई पनि सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो । तर, उनी अहिलेसम्म पनि प्रधान कार्यालयको सम्पर्कमा नआएको बताइएको छ ।
यद्यपी उनको हकमा अब प्रहरी प्रधान कार्यालयले के कारबाही गर्नेछ ? त्यो हेर्न बाँकी छ । प्रधान कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार सेवामा रहँदा उनले लिएको सेवासुविधा असुलउपर गर्नुपर्ने हुन्छ ।

