काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसाबाट पीडित तथा प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुनर्स्थापनाका साथै लैंगिक हिंसा न्यूनिकरण गर्ने लक्ष्यका साथ ईलाकास्तरसम्म महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरू स्थापना भई सेवा प्रवाह हुँदै आइरहेको बताए ।
प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थपेका चुनौतिहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्न प्रयासहरू केन्द्रित भएको उनले बताए ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य गरेका उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य तथा गोष्ठी सम्बन्धी जानकारी दिएका थिए ।
