काठमाडौं । नेपाल मानव अधिकार संगठनले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।
संगठनले नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको हो ।
संगठनका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख रविन सिंह बस्न्यातद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण र संयमित बनाउनु सरकार एव दुवै आन्दोलन पक्षको प्रथम दायित्व रहेको कुरा स्मरण गराउँदै जनप्रर्दशन शान्तिपूर्ण बनाइदिनुहुन सरोकारवाला सबैमा नेपाल मानव अधिकार संगठन अपिल गर्दछ ।’
नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संग नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतद्वारा आज अर्थात ७ गते काठमाडौँमा प्रदर्शनको तयारी गरेको छ ।

