काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पैसा गन्ने मेसिनसहित एकजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षका रूपेश श्रेष्ठ रहेका छन् ।
हुन्डी, क्रिप्टो कारोबार, अनलाइन जुवालगायतको अपराधमा संलग्न भएको आरोपमा सिआईबीले श्रेष्ठलाई बागबजारबाट पक्राउ गरेको हो । उनको साथबाट अमेरिकी डलर समेत बरामद भएको प्रहरीले जनाएको छ ।
सिआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार श्रेष्ठको साथबाट ८९ लाख ६९ हजार नेपाली र सात हजार अमेरिकी डलर बरामद भएको छ । बागबजारस्थित घरबाटै श्रेष्ठलाई पक्राउ गरिएको एआईजी बज्राचार्यले बताइन् ।
श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ ।
साथै उनको साथबाट ल्यापटप ३ थान, सिपियु ६ थान, सिसिटिभि एनभिआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको छ ।
त्यस्तै श्रेष्ठको साथबाट पैसा गन्ने मेसिनसमेत बरामद भएको छ । हुन्डीका साथै क्रिप्टो कारोबार, अनलाइन जुवालगायत विषयमा विस्तृत अनुसन्धान गरिने सिआईबीले जनाएको छ ।
