काठमाडौं । धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ ।
टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।
डिएसपी महर्जनका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए ।
टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो । त्यसपछि घरमा तीन जना मृत फेला परेका हुन् ।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आत्महत्याजस्तो देखिएको डिएसपी महर्जनले बताए ।
