काठमाडौं । नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । बढुवा भएकालाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
गत २४ कात्तिकको बढुवा समितिको सिफारिसअनुसार मंगलबार पाँचजनाको बढुवा भएको हो । जसमा एक नम्बरमा बसन्त रजौरे, दोस्रोमा रविकुमार पौडेल, तेस्रोमा नवीनराज राई, चौथोमा वीरबहादुर ओली र पाँचौमा चन्द्रदेव राई छन् ।
कार्यक्रममा बोल्दै आईजीपी कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
सुरक्षा चुनौतिको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिनुपर्ने उनको भनाइ छ ।
