काठमाडौं । ज्यान मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाल अझैं प्रहरी हिरासतमा छन् । १२ दिनदेखि थुनामा रहेका एसपी दाहाललाई २४ कात्तिकमा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको थियो ।
प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत एसपी दाहालको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि उनलाई थुनामा राखेर झापा प्रहरीले अनुसन्धान थालेको हो ।
गत २४ गते राती ७ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ७८३९ नम्बरको स्कारपियो र विपरित दिशाबाट आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
गाडी चालक थिए एसपी दाहाल र मोटरसाइकल चालक कमल गाउँपालिका-६ निवासी १८ वर्षीय अनिल मर्डी । एसपी दाहालले चलाएको गाडीको ठक्करबाट मर्डीको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-८ बिरिङ पुल नजिकै एसपी दाहालले चलाएको स्कारपियो र मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मोटरसाइकलमा ३ जना सवार थिए ।
त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका-६ निवासी १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका छन् ।
घटनापछि पक्राउ परेका एसपी दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
