काठमाडौं । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै असुरक्षित तथा अवैध माध्यमबाट टिकटक चलाउने गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
भीपीएन र डीएनएस एप सञ्चालन भइरहेको जानकारी प्राप्त भएको ब्यूरोको दाबी छ । तर, ब्यूरोले यसको प्रयोगले आर्थिक दुरुपयोगका घटनामा बढिरहेको जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै साइबर ब्यूरोले भिपिएन र डिएनएस असुरक्षित र अवैध भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ,‘पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएसजस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त हुन आएको छ ।
महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ ।’
यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्याएर आर्थिक दुरूपयोग समेत हुनसक्ने ब्यूरोको दाबी छ । यसको प्रयोगले कति जनाको आर्थिक दुरूपयोग वा डाटा चोरी भएको भन्नेबारे ब्युरोले विज्ञप्तिमा खुलाएको छैन ।

