काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले प्रदेश प्रहरी कार्यालय वा मातहतका कार्यालयमा उजुरी दिनसक्ने गरी क्यूआर कोड सार्वजनिक गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले आज एक मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी क्यूआर कोड सार्वजनिक गरेको हो ।
प्रदेश प्रहरी प्रमुख एवम नायब महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले प्रहरी कार्यालयले सुरक्षित कर्णाली निर्माण गर्न क्यू आर कोड सार्वजनिक गरिएको बताए ।
क्यूआर कोड सार्वजनिकसँगै विभिन्न ७ ओटा अभियान सञ्चालन गरेको बताउँदै डिआईजी ढकालले कर्णालीका नागरिकले अब सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउने विश्वास दिलाए ।
उनले सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन, नागरिकलाई सहज सेवा प्रदान गर्न र नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस भनेर यो सेवा सुचारु गरिएको बताए ।
डिआइजी ढकालका अनुसार क्यूआर कोडमार्फत आएका गुनासालाई तीन प्रकारमा वर्गीकरण गरिएको छ । जसअनुसार अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानविन गरि उजुरीकर्तालाई जानकारी दिइनेछ ।
उजुरीकर्ताको गोपनियता कायम राखेर प्रहरीले कानूनी कारवाही प्रक्रिया अघि बढाउने डिआईजी ढकालको विश्वास छ ।
डिआईजी ढकालले कर्णालीलाई सुरक्षित बनाउन विभिन्न अभियान सुरु गरिएको बताउँदै कर्णालीका तीन लाख ७१ हजार १२५ घरमा स्टीकर टाँस अभियान सुरु गरिएको बताए ।
जसअनुसार हालसम्म दुई लाख २७ हजार ४२४ घरमा स्टीकर टाँस गरिएको बताए । यस्तै, सुरक्षा अभियान अन्र्तगत अन्तरक्रियात्मक गस्ती अभियान अन्र्तगत सात हजार दुई सय ६२ ओटा सम्पन्न गरिएको छ ।
यात्रुमैत्री अभियानबाट दुई लाख भन्दा बढी नागरिकले सेवा लिएको बताउँदै डिआइजी ढकालले कर्णालीमा १५ सय ६५ जना नागरिकलाई निःशुल्क निवेदन लेखन कार्य सम्पन्न भएको हो ।
यस्तै, हरेक कार्यालयमा नागरिक सहजकर्ता परिचालन गरिएको उनको भनाइ थियो ।
