काठमाडौं । बाराको पचरौता नगरपालिका-७ बेनौलीमा झन्डा मेला लगाउने विषय विवाद भई दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
गए राति ढुंगा हानाहान गरी झडप भएको हो । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार झडपमा पचरौता-७ बेनौली बस्ने ४० वर्षीय लक्ष्मी पटेल र सोही स्थानका ४२ वर्षीय चण्डिका पटेल घाइते भएका छन् ।
तनावपूर्ण स्थिति नियन्त्रणमा लिन शुरूमा प्रहरीले दुई राउन्ड हवाई फायर गरी भीड तितरबितर पारेको थियो । तर, राति पौने १२ बजे पुनः झडप भएपछि पाँच राउन्ड र तेस्रो पटक थप एक राउन्ड हवाई फायर गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
Facebook Comments Box
