काठमाडौं । गृह प्रशासन सुधारका लागि अध्ययन समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले पूर्वमुख्यसचिव लीलामणी पौडेलको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।
मन्त्रालयले गत कात्तिक २४ गतेदेखि नै समिति बनाएर काम गरेको छ । गृह मन्त्रालयले विशेष गरी ७ वटा निकायको काम सुधार गर्ने गरी योजना बनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन विभाग, स्थानीय प्रशासन तथा त्यसका सेवा प्रभाव, विपद् व्यवस्थापन र राष्ट्रिय परिचय पत्रलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अध्ययन गर्न समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ । समितिको तीन महिना कार्यअवधि राखिएको छ ।
अध्ययन समिति संयोजक पौड्याल, सदस्यहरू पूर्वसचिव शरदचन्द्र पौड्याल, पूर्वसचिव शंकरप्रसाद कोइराला, पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम छन् ।
समितिको सदस्यको सचिवको जिम्मेवारी भने गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको छ ।
