काठमाडौं । शनिबार साँझ रामेछापकी संगिता तामाङ जडिबुटीबाट जोरपाटी जम्मुडाँडा जाँदै थिइन् बा २ ज ३४५३ नम्बरको ट्याक्सीमा । तर, हतारमा रहेकी उनले ट्याक्सीलाई भाडा दिएर आफ्नो गन्तव्यतिर लागिन् ।
तर हतरा गर्दा उनले सोही ट्याक्सीमा आफ्नो गरगहना छुटाइन् । करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेपछि उनले तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरिन् ।
उक्त खबरको आधारमा ट्राफिक प्रहरीले सिसिटिभी क्यामेराको सहयोगमा चालकको खोजी सुरु गर्यो । तर, ट्याक्सी चालक रोशन बयलकोटी आफैंले प्रहरी वृत्त गौशालामा उक्त गहना बुझाउन पुगिसकेका थिए ।
ट्याक्सी चालक आफैं गहना बुझाउन प्रहरी कार्यालय पुगेपछि ट्राफिक प्रहरीले सुन धनीलाई बोलाएर उक्त सुन बुझाएको छ । ट्याक्सीमा छुटेको करिब ७ तोला सुन चालकले नै ट्राफिक प्रहरीलाई बुझाएका हुन् ।
ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहना सहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आइतबार सुन धनीलाई हस्तान्तरण गरेका हन् ।
ट्याक्सी चालकको इमान्दारिता देखेपछि प्रहरीले उनको प्रशंसा समेत गरेको थियो ।
