काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले अत्याधुनिक हतियार बरामद गरेको छ । रौतहटको यमुनामाई नगरपालिका– ३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ वटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल बरामद गरेको हो।
सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले आइतवार दिउँसो सो घरमा खानतलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेडइन इन्डिया लेखिएको छ ।
उक्त घरबाट हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा थप अप्रेशन जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार अप्रेशन जारी रहेकाले केही व्यक्ति घरभित्रै ढोका थुनेर बसेका छन् ।
हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सिमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहिको गाडीको सिसा समेत फुटेको सशस्त्र प्रहरीले जनाएको छ ।
