काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको उमेर विवाद प्रकरण फेरी चर्चामा छ । यसअघि प्रहरी प्रमुख नियुक्तिको समयमा एआईजी ज्ञवालीको उमेर विवाद प्रकरण चर्चामा आएको थियो ।
शुक्रबार बसेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । एआईजी ज्ञवालीको जन्ममिति विवादबारे उजुरी परेपछि समितिले गृहलाई यस्तो निर्देशन गरेको हो ।
उजुरीमाथि प्रक्रिया अगाडि बढाउँदै राज्यव्यवस्था समितिले सात दिनभित्र सत्यतथ्य विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको हो । ‘जन्ममिति फरक परेको विवादमा के भएको हो, किन छानबिन नभएको हो, सत्यतथ्य सबै विवरण उपलब्ध गराउन अनुरोध छ,’ समितिले गृहलाई गरेको पत्राचारमा भनिएको छ ।
शेरबहादुर चन्दले दिएको उजुरीमा एआईजी ज्ञवालीले उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरी भ्रष्टाचारजन्य काम गरेको आरोप लगाइएको छ । यता, समिति सभापति रामहरि खतिवडाले गृह मन्त्रालयबाट जन्ममिति विवादबारे फाइलसहितको विवरण प्राप्त भएपछि छानबिन प्रक्रिया अघि बढ्ने बताका छन् ।
ज्ञवालीविरूद्ध यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उमेर विवादकै उजुरी परेको थियो । जतिबेला अख्तियारले नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो ।
यसअघिका आईजी धीरजप्रताप सिहंको कार्यकाल सकिएपछि प्रहरी प्रमुखका दाबेदार मानिएका ज्ञवाली उमेर विवादकै कारण पछि हट्नुपरेको ठानिएको थियो । ज्ञवालीविरूद्ध डीआईजी हुँदै अख्तियारमा उजुरी परेको हो ।
उनको भर्ना प्रक्रियामै त्रुटि रहेका कारण रद्दको मागसहित उजुरी परेको थियो । भर्ना मितिमा २५ वर्ष ननाघेको हुनुपर्नेमा ज्ञवालीले उमेर ढाँटेर भर्ना भएको उजुरी परेको थियो ।
नागरिकताअनुसार उनको उमेर प्रहरी निरीक्षकमा भर्ना हुने बेलासम्म २५ वर्ष नाघिसकेको दाबीसहित उजुरी परेको हो । जबकि प्रहरीमा भर्ना हुन २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।
