काठमाडौं । गत शुक्रबार गृह मन्त्रालयले पाँच जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्ने निर्णय गर्यो । एसएसपी बढुवासँगै प्रहरीमा ७ एसपीको पद रिक्त भएको छ ।
रिक्त भएका सात पदमा दर्जनौं प्रहरी नायब उपरीक्षक (डिएसपी)बीच चर्को प्रतिस्पर्धा छ । जसले गर्दा एसपी बढुवा पेचिलो बनेको छ । तर, प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी बढुवाको तयारी आफ्नै तरिकाले गरिरहेको छ ।
प्रधान कार्यालय स्रोतका अनुसार रिक्त पदको लागि डिएसपीहरु प्रदीप क्षेत्री, अंगुर जिसी, श्यामबाबु ओलीया, विनोद घिमिरे, अनिल कुमार खड्का, नारायण रन्जितकार, निरञ्जनदत्त भट्टहरु बढुवाको लागि प्रतिस्पर्धामा छन् ।
त्यस्तै बढुवाको प्रतिस्पर्धामा डिएसपीहरू ढकेन्द्र खतिवडा, यादव ढकाल, सन्तोष तामाङ, राजन लिम्बु, अनन्त शर्मा र एकनारायण कोइराला पनि छन् । उनीहरुमध्ये केही संगठनमा इमान्दार अधिकृत छन् भने कोही विवादित पनि छन् ।
पहुँचवाला डिएसपीहरु योग्यता क्रमको अन्तिममा भएकाले एसपी बढुवा पेचिलो बन्ने अवस्था रहेको एक सिनियर प्रहरी अधिकृत बताउँछन् । क्षेत्री, जिसी, ओलिया, घिमिरे, खड्का, भट्ट संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले समेत संगठनको मापदण्डअनुसार नै बढुवा हुने अडान राखेपछि शक्तिशाली मानिएका केही प्रहरी अधिकृत हच्किएको बताइन्छ । त्यसो गर्दा शक्तिशाली मानिएका डिएसपीहरु छुट्ने अवस्था हुन्छ ।
त्यसैगरि केहि जिल्ला प्रहरी प्रमुखले जिल्ला चलाउन नसकेको भन्दै प्रहरी मुख्यालयले फेरबदलको तयारी समेत गरेको छ । बढुवा र सरुवाको चर्चासँगै प्रहरी अधिकारीहरुले शक्ति केन्द्रबाट दबाव गराउने क्रम बढेपछि उनीहरुको सूची संकलनमा आईजी सचिवालय लागिपरेको छ ।
