काठमाडौ । चोरीको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन् । सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारीलाई धनगढीमा अस्पतालबाटै ल्यापटप चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी भएको थियो । सो राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको सिसिटिभीमा देखिएको कैलाली प्रहरीले जनाएको छ ।
महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति असई भण्डारी भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको थियो ।
दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो । तिहारको बिदामा उनी धनगढी पुगेका थिए ।
सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए ।
उनका अनुसार भण्डारीमाथि चोरी मुद्दा दर्ता भएको छ । सात दिन म्याद थप गरेर भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ ।
