काठमाडौ । दलालमार्फत् लुकिछिपी बिना भिसा अमेरिका पुगेका नेपाली युवकको ज्यान गएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ८ का स्थायी बासिन्दा ३४ वर्षका सुवास श्रेष्ठको ज्यान गएको हो ।
उनी गत सेप्टेम्बर २ तारिखमा अमेरिका प्रवेश गरेको खसोखास डटकमको समाचारमा उल्लेख छ । दलाललाई मोटो रकम बुझाएर विना भिसा अमेरिका पुगेका उनी त्यहाँ छिर्नासाथ अमेरिकी प्रहरीको नियन्त्रणमा पुगेका थिए ।
त्यसपछि उनलाई अध्यागमन हिरासतमा राखियो । टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा आइसको हिराशतमा रहेका श्रेष्ठको सोमबार मृत्यु भएको अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आइसले पुष्टी गरेको समाचार छ ।
सन् १९८९ को जुन ४ मा जन्मिएका सुवासको मृत्युको कारण केही दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । श्रेष्ठ गत सेप्टेम्बर २ मा एरिजोनाको लुकभिल नजिकैबाट विना भिसा अमेरिका प्रवेश गरेका थिए ।
उनी अध्यागमन अधिकारीद्वारा निरीक्षण, भर्ना वा प्यारोल बिना नै अमेरिका प्रवेश गरेको आइसले जनाएको छ । यूएस बोर्डर पेट्रोलले उनलाई अध्यागमन र राष्ट्रियता ऐनको सेक्सन २१२ अन्तर्गत शीघ्र देशनिकालाका लागि सूचना र आदेश दिएको थियो ।
सेप्टेम्बर ९ मा यूएस बोर्डर पेट्रोलले श्रेष्ठलाई इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन सान एन्टोनियोमा स्थानान्तरण गरेको थियो । त्यसपछि उनलाई उनलाई कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखिएको थियो, जहाँ उनको अध्यागमन मुद्दा जारी थियो ।
नोभेम्बर १३ मा इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसनलाई उनी अचेत भएकोबारे सूचित गरिएको थियो । मेडिकल सहायता पछि श्रेष्ठलाई मृत घोषणा गरिएको थियो ।
