काठमाडौं । गत शुक्रबार राती ७ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ७८३९ नम्बरको स्कारपियो र विपरित दिशाबाट आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्कियो ।
गाडी चालक थिए नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल र मोटरसाइकल चालक कमल गाउँपालिका ६ निवासी १८ वर्षीय अनिल मर्डी ।
तर, एसपी दाहालले चलाएको गाडीको ठक्करबाट मर्डीको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-८ बिरिङ पुल नजिकै एसपी दाहालले चलाएको स्कारपियो र मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मोटरसाइकलमा ३ जना सवार थिए ।
त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका-६ निवासी १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका छन् ।
एसपी दाहाललाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
