काठमाडौं । शुक्रबार नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले अचानक राजीनमा दिए । अवकाशको १५ दिनअघि नै राजीनामा दिएपछि एसएसपी लुइँटेल यतिबेला चर्चामा छन् ।
एसएसपी लुइँटेलले राजीनामा दिएको केहीबेरमै पाँचजना प्रहरी उपरीक्षक (एसपी)को बढुवा सिफारिस निस्कियो । जसले गर्दा सहजै बुझ्न सकिन्छ कि कुनै एक व्यक्तिको लागि एसएसपी लुइँटेलले राजीनामा दिएका हुन् ।
यदी लुइँटेलले राजीनामा नदिएको भए चारजना एसपीको मात्र बढुवा सूची निस्किन्थ्यो । तर, उनको राजीनामापछि गृह मन्त्रालयले ५ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।
‘एसएसपी लुइँटेलको राजीनामा बार्गेनिंगमा भएको हुनसक्छ,’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत भन्छन्, ‘नत्र अवकाशको १५ दिनअघि नै राजीनामा दिन किन आवश्यक थियो ।’
त्यहि पनि गृहले उनको राजीनामा यति छिटो स्वीकृत समेत गर्यो कि अचम्म छ । यसअघि राजीनामा दिएका योग बहादुर पालको राजीनामा स्वीकृत हुन २ महिना समय लागेको थियो । त्यसैले यहिँबाट पनि प्रष्ट हुन्छ कि लुइँटेलको राजीनामा बार्गेनिगंमा भएको छ ।
प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठानमा कार्यरत लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् । उनले उमेरहदका कारण अवकाश पाउन लागेका थिए । तर अवकाशको दुई साताअघि नै लुइँटेल राजीनामा दिए ।
लुइँटेल २०७७ पुस २७ गते एसपीबाट एसएसपी बढुवा भएका थिए । उनले करिब तीन वर्ष एसएसपीको जिम्मेवारी सम्हालेका छन् । अर्का एसएसपी मोहनप्रसाद पोखरेलले पनि १५ मंसिरमा उमेरहदका कारण अवकाश पाउँदै छन् ।
