काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निक्षेपकर्तासँग जाहेरी माग गरेको छ ।
ललितपुर सातदोबाटोमा केन्द्रीय कार्यालय रही काठमाडौं र भक्तपुरमा पनि देउराली सहकारीले सेवा दिँदै आएको थियो ।
तर सेवा केन्द्रहरूमा निक्षेपकर्ताले मुद्दती खातामा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै केही निक्षेपकर्ताले जाहेरी दिएपछि अनुसन्धान सुरु गरेको सीआईबीले बचत तथा मुद्दतीको अवधि पुगिसकेपछि पनि रकम फिर्ता नपाएका निक्षेपकर्तासँग जाहेर आह्वान गरेको हो ।
सोमबार ब्यूरोले सूचना जारी गर्दै भनेको छ, ‘काठमाडौं र भक्तपुर जिल्लाभित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ताले सदस्यहरूले जम्म गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यालयमा संलग्न व्यक्तिहरूउपर प्रमाणसहित केन्द्रीय अनुसन्धान ब्यूरोमा यथाशीघ्र रितपूर्वक जाहेरी दिनहुन सूचित गरिन्छ ।’

