काठमाडौं । प्रहरी प्रभाग, गोंगबुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङमाथि छानबिन सुरु भएको छ । एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो ।
गत १६ कात्तिकमा उनले नुवाकोट घर भई बानियाँटार बस्ने कर्णबहादुर अधिकारीलाई पाइपले कुटेको बताइएको छ । अधिकारी लेनदेनसम्बन्धी विवादमा उजुरी लिएर प्रभाग गएका थिए ।
अधिकारीको मुकुन्द थपलियासँग लेनदेन विवाद थियो ।सो दिन उनलाई छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको थियो । थपलिया नआएपछि अधिकारीले प्रहरी कार्यालयबाटै फोन गरी गालीगलौज गरेका थिए ।
प्रहरी कार्यालयमा जथाभाबी बोलेको भन्दै प्रभागका प्रमुख इन्स्पेक्टर गुरुङले अधिकारीलाई कुटेका हुन् । इन्स्पेक्टरको कुटाईबाट अधिकारी घाइते भएका छन् ।
पछि माफी मागेर अधिकारी श्रीमतीसहित त्यहाँबाट निस्किएका थिए । कुटपिटबाट आफू अस्पताल नै जानु परेको भन्दै उनले विभिन्न निकायमा उजुरी गरेका हुन् । जसअनुसार गुरुङमाथि छानबिन सुरु भएको हो ।
पीडित अधिकारी भूपु आर्मी हुन् । घटना गम्भीर प्रकृतिको देखिएकाले इन्स्पेक्टर गुरुङलाई कारबाही गरिने एक प्रहरी अधिकृतले बताए ।
