काठमाडौं । शुक्रबार अर्थात १७ गते राती ११ः४७ बजे आसपास आएको ६ दशमलव ४ म्याग्नीच्यूडको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सबैभन्दा धेरै क्षति पुग्यो । हालसम्म सो भूकम्पमा परी १५७ जनाको निधन भएको छ भने २५६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको संकलन कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार हालसम्म संकलन गरिएको विवरणमा पूर्ण र आशिंक गरेर ३८ सय वटाभन्दा धेरै घरमा क्षति पुगेको छ ।
भूकम्पमा नौ सय ३७ वटा घर पूर्णरूपमा क्षति भएको छ भने दुई हजार नौ सय ५४ वटा घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । सबैभन्दा धेरै जाजरकोटमा नौ सय पाँच वटा घर पूर्णरूपमा भत्किएका छन् ।

यसरी भूकम्पले तहसनहस पारेपछि सहयोगको घोषणा गर्नेहरुको पनि कमी छैन । केन्द्र सरकारले दुई जिल्लामा तत्काल राहतका लागि पाँच–पाँच करोड पठाएको छ भने ती क्षेत्रमा भत्किएका घरको पुनर्निर्माण गर्नुपर्ने सरकारमा दायित्व बढेको छ ।
क्षतिको विवरण संकलन भइरहेकोले ती क्षेत्रमा कसरी पुनर्निर्माण गर्ने, त्यसका लागि कति खर्च लाग्छ, कस्तो मोडालिटी अपनाउने भन्ने बारेमा छलफल हुनै बाँकी रहँदा नेपाल प्रहरीले तत्कालको लागि आपतकालिन आवास निर्माण गरेको छ ।
जाडो मौसममा कठ्यांग्रिएर बस्नुपर्ने अवस्थालाई मध्यनजर गरेर कर्णाली प्रदेश प्रहरी कार्यालयले भूकम्प प्रभावित जाजरकोट जिल्लामा प्रहरीले आपतकालिन आवास बनाएको प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) भीम प्रसाद ढकालले जानकारी दिए ।

डिआईजी ढकालले भने, प्रभावितहरुलाई अस्थायी टेन्टमा रबस्ने बन्दोबस्त मिलाएका छौं । अहिलेलाई तत्काल यसले राम्रो काम गरेको छ । धेरै ठाउँबाट सहयोगको घोषणाहरु आइरहेको हुनाले छिटोभन्दा छिटो अर्को व्यवस्था हुने अपेक्षा छ ।
निर्माण सामाग्रीको आवश्यकता, सुरक्षा निकायबाट निर्माण कार्यमा खटाउनुपर्ने जनशक्ति तथा स्वयंसेवकहरुको आवश्यकतासहितको कार्ययोजना तयार पारी कामहरु भइरहेको डिआईजी ढकालले बताए ।


![भूकम्प प्रभावित क्षेत्रमा प्रहरीले बनायो आपतकालिन आवास [हेर्नुहोस् तस्बिरमा]](https://scoopkhabar.com/wp-content/uploads/2023/11/nepal-police-jajarkot1-1024x532.jpg)