काठमाडौं । जाजरकोट इपिसेन्टर भएर गएको भूकम्पमा परेकाहरूको खोज तथा उद्धारमा तीनवटै सुरक्षा निकायहरु आक्रामक तरिकाले लागिपरेका छन् ।
भूकम्पपश्चात् शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न टोलीहरु खोज तथा उद्धारमा सक्रिय तरिकाले लागिपरेका हुन् ।
भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि सम्बन्धित जिल्ला तथा अन्य जिल्लाहरूबाट तीनवटै सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।
जाजरकोट र पश्चिम रुकुममा मेडिकल सामाग्री तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित छ सय भन्दा बढी नेपाली सेना, आठ सय भन्दा बढी नेपाल प्रहरी र सात सय बढी सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
हालसम्म भूकम्पमा परी जाजरकोटमा १ सय ५ र पश्चिम रुकुममा ५२ जना गरी १ सय ५७ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै जाजरकोट र पश्चिम रुकुममा भूकम्पमा परेका १ सय ९० जनाभन्दा बढिको उद्धार गरिएको छ ।
