काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेका हुन् ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले रूसका राष्ट्रपति पुटिनले एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको दुःखद घटनाबाछ पीडितहरुप्रति गहिरो संवेदना प्रकट गरेको पुष्टि गरे ।
राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६.४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
