काठमाडौं । कालीमाटीको सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव नेपाली सेनामा कार्यरत २६ वर्षीय सुमन कार्कीको रहेको खुलेको हो ।
चन्द्रागिरी नगरपालिका ६ घर भई गणेश दल जंगीअड्डा भद्रकालीमा दरबन्दी भई लेश नायक दर्जामा कार्यरत कार्कीको शव रहेको खुलेको प्रहरी वृत्त, कालीमाटीले जनाएको छ । उनको साथबाट नेपाल आर्मीको कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान स्थानीयहरुले सडकपेटीको किनारमा रहेको बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखेर कागज टाँसेको देखेपछि नजिकै नियाल्दा लडिरहेको अवस्थामा शव पनि देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै घटनास्थलमा प्रहरी वृत्त, कालीमाटीका प्रमुख नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारी पुगेका थिए । भेटिएको शव सेनाको कर्मचारीको खुलेपछि घटनास्थलमा सैनीक प्रहरी क्षेत्र जंग हमाल, गणेश दलका उपसेनानी रक्षा कार्कीसमेत पुगेका थिए ।
शव भेटिएको नजिकै रहेको बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखिएको पाइएपछि प्रहरीले थप अनुसन्धानन गरिरहेको जनाएको छ । कतै हत्या गरेर शव त्यहाँ फालेपछि उक्त कागजमा ‘विनोद रेष्ट इन पिस’ लेखेर टाँसिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
