काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक संञ्जालमा युवतीको फोटो दुरुपयोग गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो । उनीहरूले ह्वाट्स एपमा ‘नेपाली कल गर्ल’ भन्ने ग्रुप बनाएका थिए ।
उक्त ग्रुपमा इन्स्टाग्रामबाट विभिन्न युवतीहरूको फोटो निकाल्ने र विभिन्न व्यक्तिहरूलाई पठाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यसपछि उनीहरूले युवतीको फोटो पठाएर निश्चित पैसा र स्थान बार्गेनिङ गर्ने गरेको प्रहरीको भनाइ छ ।
उनीहरूले विभिन्न पुरुषहरूलाई बार्गेनिङ भएको रकममध्ये आधा पैसा पाएपछि युवतीलाई तोकिएको स्थानमा पठाउने भन्दै म्यासेज पठाउँथे । कतिपय पुरुषले उनीहरूले भनेबमोजिम आधा पैसा दिन्थे तर तोकिएको स्थानमा युवती पुग्दैनथिन् ।
आधा पैसा पाएपछि उनीहरूले ह्वाटसएपमा ती पुरुषलाई ब्लक गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले कल गर्ल चाहिएमा निश्चित ह्वाटसएप नम्बर सामाजिक सञ्जालमा राखेका थिए ।
महिलाको फोटो छनौट गरेपछि अनलाइनमार्फत् पैसा तिर्नुपर्ने समेत सामाजिक सञ्जालको ग्रुपमा सूचना राखेका थिए ।
