काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रणबहादुर चन्द र आफूलाई अभियन्ता बताउने तारा बरालबीच बिहे गर्ने सहमति भएको छ ।
उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजसमेत गरिएको छ । पूर्वएआईजी चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् ।
यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।
तीन जनालाई साक्षी किनारामा राखेर उनीहरुले गरेको सहमतिको कागजमा पछिल्लो समय आफूहरुलाई जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएपछि विवाह गर्ने निर्णयमा पुगेको बताइएको छ । छिट्टै आवश्यक कागजातको तयारीपछि विवाह गर्ने उनीहरुको सहमति छ ।
‘लिखितम कागज गरिदिनेको नाम लोकबहादुर चन्दका नाती खडक बहादुर चन्दका छोरा काठमाडौँ जिल्ला वडा नम्बर ५ टंगाल बस्ने वर्ष ५९ को रणबहादुर चन्द आगे ऋषिराम बरालकी नातिनी, बुद्धिप्रसाद बरालकी छोरी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १२ मालपोत चोक घर भई हाल काठमाडौँ बानेश्वर बस्ने वर्ष ४२ कि तारा बरालसँग विवाह गर्ने सहमति गरियो’, दुबैले ल्याप्चेसहित दस्तखत गरेको कागजमा लेखिएको छ ।
