काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका व्यक्ति हत्याका अभियुक्त योगराज ढकाल (रिगल)ले आफूले आगामी दिनमा फेरि न्याय पाउने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पणका लागि जानुअघि एक भिडियोमार्फत रिगलले फेरि न्याय पाउने आशा राखेका हुन् । उनले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने बताए ।
‘सम्मानित अदालतले गरेको निर्णयको सम्मान गर्दै र कानुनमाथि फेरि पनि विश्वास राख्दै मैले भोलि फेरि न्याय पाउनेछु भन्ने एउटा आशा गर्दै म आत्मसमर्पण गर्न जाँदैछु । मलाई लागेका दोषहरू पछि के हुन्छ, कसो हुन्छ, त्यो फेरि छानबिन होला । तर, आज सर्वोच्च अदालतको फुल बेन्च (पूर्ण इजलास) ले जुन निर्णय गर्यो त्यसको म सम्मान गर्दै म आत्मसमर्पणका लागि जाँदै छु,’ उनले भनेका छन् ।
कर्तव्य ज्यानको अभियोगमा दोषि ठहर भएका ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । संविधान दिवशको अबसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते रिगलसहितका कैदीलाई आममाफी दिने निर्णय गरेका थिए ।
आफ्ना पति चेतन मानन्धरका हत्यारा रिगललाई सरकारले आममाफी दिएर छाडेपछि भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
