काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीका नियमित कामहरु रोकिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शारीरिक अवस्था अस्वस्थ हुँदा संगठनमा पद रिक्त हुँदा समेत बढुवा हुन नसकेको हो ।
माथिल्लो तहमा बढुवा प्रभावित बन्दा प्रहरी अधिकृतहरुमा नैराश्यता छाएको छ । हाल नेपाल प्रहरीमा ३ वटा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पद रिक्त छ । अर्को पनि एउटा पद रिक्त हुने सम्भावना छ ।
यौन दुव्र्यवहार काण्डमा परेका एसएसपी योगबहादुर पालले राजीनामा दिएकोले चार जनाको पद रिक्त हुँदैछ । गृहमन्त्री श्रेष्ठ बिरामी हुँदा रिक्त पदमा बढुवाको प्रक्रिया सुरु हुन नसकेको हो ।
गृहमन्त्री श्रेष्ठ मन्त्रालय नगएको कारण एसएसपी पालको राजीनामा पनि रोकिएको स्रोत बताउँछ । पालले एक महिनाअघि नै राजीनामा दिएका थिए । तर, गृहमन्त्रीले उनको राजिनामा रोकेका छन् ।
प्रहरी संगठनमा असोज तेस्रो सातासम्म कार्यसम्पादन मूल्याङकनको समय हुन्छ । जून अवधि सकिएको छ । प्रहरी नियमावलीमा पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिसक्नुपर्ने प्रावधान छ ।
तर, बढुवाको भागबन्डा नमिल्दा लामो समय रोकिने गरेको छ । अहिले पनि रिक्त उच्च पदमा बढुवाका लागि चलखेल सुरु भइसकेको छ । एसएसपीमा बढुवा हुन दुई दर्जन प्रहरी उपरीक्षक (एसपी)हरु लागिपरेका छन् ।
एसएसपी बढुवा मन्त्रीस्तरीय निर्णयबाट हुने प्रावधान रहेको छ ।
