काठमाडौं । बाराको कलैया उपमहानगरपालिका-६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न भएको भन्दै प्रहरीले ५ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
गत १२ कात्तिकमा दुईवटा मोटरसाइकलमा आएको अज्ञात समूहले प्रिन्सिपल रुपेशको गोली हानी हत्या गर्ने मुख्य योजनाकार राधा गुप्तासहितलाई प्रहरीले सार्वजनिक गरेको हो । कलैयाको रोजमेरी रेस्टुरेन्टबाट खाजा लिएर फर्कँदै गर्दा गोली प्रहार भएको थियो ।
प्रहरीले २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक ३३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार राजपुतलाई सार्वजनिक गरेको हो ।
प्रिन्सिपल रुपेशको हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबी रहेको प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा बारा प्रहरी प्रमुख सुरेशराज काफ्लेले बताए । पक्राउ परेकी राधा तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्तासँग प्रेममा थिइन् ।
मनोजसँग प्रेम भए पनि मृतक रुपेश र राधाबीच पनि प्रेमसम्बन्ध रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । राधा र रुपेश बिचको अनैतिक सम्बन्धको विषय लाई लिएर राधा, मनोज र रूपेशबीच विवाद र झगडा भएकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा एसपी काफ्लेले बताए ।
आरोपी राधाले भारतीय नागरिक मनोजसँग मिलेर सुटरलाई भाडामा लिएर रुपेशको हत्या गरेको देखिएको एसपी काफ्ले बताउँछन् । चन्दन र कुमारले रुपेशका हरेक गतिविधिको निगरानी गरेर गोली हानेका थिए । सुटर प्रयोग गर्ने मुख्य व्यक्ति मनोज फरार भने फरार रहेका छन् ।
प्रहरीको संयमताले अनुसन्धान सफल
प्रिन्सिपल रुपेशको हत्यालगत्तै एसपी काफ्ले आफैं घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका थिए । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरी सबुत तथा प्रमाणहरु संकलन सकेपछि प्रिन्सिपल रुपेशको शव उठाइएको थियो ।
तर, बारा प्रहरी शुरुदेखि नै यो घटनामा निकै संयम प्रस्तुत भएको हो । करिअर नै दाउमा राखेर एसपी काफ्ले आफैँ फिल्डमा गएका कारण पनि प्रमाणका स-साना अंशलाई पनि सुक्ष्म अध्ययन गरेको थियो, प्रहरीले ।
प्रहरीले घटनास्थल र केही ‘क्लू’ फेला पार्नेबित्तिकै चिनेजानेकै मानिसबाट प्रिन्सिपल रुपेशको हत्या भएको निष्कर्ष निकालेको थियो । त्यसैले बारा प्रहरी संयमित भएर अनुसन्धानमा लागिपरेको थियो ।
