काठमाडौं । लेक लागेर मृत्यु भएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) टिकाराम ढुंगाना ११ कात्तिकमा अन्नपूर्ण बेसक्याम्पमा पुगेका थिए । त्यो पनि नेपाली सेनाको हेलिकप्टरमा ।
जतिबेला संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा थिए । उनी आज स्वदेश फर्किसकेका छन् । तर, नेपाल भ्रमणको क्रममा महासचिव गुटरेसले १४ कात्तिकमा अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने तय थियो ।
सोहीअनुसार महासचिव गुटरेसको सुरक्षाका तयारीको लागि प्रहरी चौकी घान्द्रुकमा कार्यरत असई ढुंगानासहित ३ जना प्रहरी नेपाली सेनाको टोलीसँगै हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्प पुगेका थिए ।
त्यसपछि महासचिव गुटेरेस समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प पुगेर फर्किए । गुटेरेस मंगलबार बेसक्याम्प पुगेर फर्किएका हुन् ।
तर, उनको सुरक्षा तयारीको लागि सेनाको हेलिकप्टरमा गएका असई ढुंगानाको पैदल फर्किँदै गर्दा बीच बाटोमै निधन भयो । असई ढुंगाना अन्नपूर्ण गाउँपालिकाको टोलीसँग मंगलबार पैदलै फर्केका थिए ।
बाटोमा एक्कासी उनको स्वास्थ्यमा समस्या आयो । असई ढुंगाना १२ गते राति अन्नपूर्ण ११, हिमालयमा बसेका थिए । जतिबेला उनले आफ्नो खुट्टा दुःखेको बताएको बताइन्छ ।
सोही राति उनलाई वान्ता समेत भएको रहेछ । स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि स्थानीय जनप्रतिनिधिहरुले तत्कालै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापालाई घटनाबारे जानकारी गराएर हेलिकप्टर मगाएका थिए ।
तर, मगाएको हेलिकप्टर आउन नपाउँदै असई ढुंगाना अस्ताए । एसपी थापाले भने आफूले असई ढुंगानाको स्वास्थ्यमा समस्या आएको कुरा बुधबार बिहानमात्रै थाहा पाएको बताए ।
अन्नपूर्ण बेसक्याम्पमा खटिएका असई ढुंगानाको बुधबार बिहानै लेक लागेर मृत्यु भएको हो ।
कर्तव्य निर्वाहका क्रममा विरगती प्राप्त गरेका असई ढुङ्गानाको पार्थिव शरीरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राङ्गणमा शोक सलामीसहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी, नेपाल प्रहरी प्रदेश कार्यलय,पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईरालाले उनको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उक्त श्रद्धाञ्जली सभामा प्रहरी व्याण्डसहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो । उनको आजै अन्त्येष्टी समेत गरिएको छ ।
