काठमाडौ । इलाम जिल्लाको सुर्योदय नगरपालिका-२ चारमाईल स्थित दशगजा इलाकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित नोट तथा सामानसहित तीन जना भुटानी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
गत १३ कात्तिकमा नियन्त्रणमा लिइएकाहरु भुटान घर बताउने ४५ वर्षिय धन कुमार राई, ४४ वर्षिय फौदसिंह राई र २५ वर्षिय विशाल राई छन् ।
भुटानबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथमा प्रतिबन्धित नोट तथा अन्य सामान फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट ४ लाख २५ हजार ७ सय १० रुपैयाँ बराबरको भारतीय नोट, ३ हजार ७ सय ५६ रुपैयाँ बराबरको भुटानी नोट र नेपाली १ सय ८० रुपैयाँ समेत बरामद भएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई प्रतिबन्धित नोट तथा सामानसहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
