काठमाडौ । चितवन प्रहरीले माग गरेबमोजिम रकम नदिए अपहरण र गोली प्रहार गर्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका–१ बस्ने रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले एनसेल नम्बरबाट पटकपटक फोन गरी ज्यान मार्ने धम्की दिएर २५ लाख माग गरेको आरोपमा प्रहरीले पक्राउ गरि मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
हेटौँडा उपमहानगरपालिका-२ घर भई भरतपुर बस्दै आएका थापाले भरतपुर महानगरपालिका–१ पुल्चोकमा औषधि पसल चलाएका सोमराज सुवेदीलाई धम्काउँदै रकम माग गरेको चितवन प्रहरीले जनाएको छ ।
उनले एनसेलका अपरिचत नम्बरहरुबाट बारम्बार फोन गरी हिन्दी भाषाको प्रयोग गरी सुवेदीलाई धम्क्याएका थिए । थापालाई प्रहरीले रकम माग गरिरहेकै बखत भरतपुरस्थित मालपोतचोकबाट पक्राउ गरेको हो ।
थापा यसअघि पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले पुष्टि गरेको छ । उनीविरुद्ध २०६६ जेठ २७ मा चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।
त्यसैगरी सोही साल असार ३ गते अवैध हतियार देखाई लुटपाट गरेको अभियोगमा डाँका मुद्दा समेत दर्ता भएको थियो । त्यसैगरी प्रहरी वृत सातदोबाटो, ललितपुरमा थापाविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।
२०७५ मंसिर १३ गते जिप्रका चितवनमा उनीविरुद्ध डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको पाइएको छ । उनी ९ वर्ष कैद तोकिएकोमा २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागार कार्यालय भरतपुरबाट आम माफी पाई छुटेका थिए ।
