काठमाडौ । मुगुको छायॉनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा श्रीदेवी बोहरासहित एकै परिवारका चार जनाको हत्याबारे अनुसन्धान गर्न प्रहरीको अनुसन्धान टोली शनिबार (आज बिहान) घटनास्थल पुगेको छ । घटनास्थल पुगेसँगै प्रहरीबारे घटनाबारे अनुसन्धानले थालेको छ ।
शुक्रबार घरमै २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिनाका छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको शव भेटिएको थियो । सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालका अनुसार घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुमा खटिएका छन् । तिनै टोली घटनास्थलमै पुगिसकेको उनले बताए ।
सुर्खेतबाट अनुसन्धानका लागि वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुरसहितको अनुसन्धान टोली पनि खटिएका छन् । एउटा टोली शनिबार बिहानै मुगु पुगेको छ । टोलीले घटनाबारे विशेष अनुसन्धान थालिसकेको डीआईजी ढकालले बताए ।
यस्तै, शुक्रबार बिहान घटनाको खबर पाउनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो । शुक्रबार बिहानैदेखि घटनास्थललाई सिल गरी प्रहरीले पहरा दिइरहेको छ ।
मृतक आमा छोराछोरीसहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका उनीहरु ८ गते साँझ फर्केका थिए । उनीहरूको सोही राति हत्या भएको हुन सक्ने प्रहरीले अनुमान छ ।
