काठमाडौं । नेपाल प्रहरीमा हालसम्म ३० जना महानिरीक्षक (आईजीपी) भइसके तर स्मरण हुने नामहरु औंलामा गन्न सकिने मात्र छन् । सबैको नाम थाहा पाउन सामान्य ज्ञानका पाना नै पल्टाउनुपर्ने हुन्छ ।
त्यसैले आईजीपी भएर भित्तामा फोटो झुन्ड्याउनु ठूलो कुरा होइन, त्यो फोटो पनि समय क्रममा धमिलो हुँदै जान्छ, तर आफूलाई पुस्तौंसम्म चिनाउने कुरा भनेकै सत्कार्य हो, सिर्जनशीलता हो । अहिले यति कामना गरौंं वर्तमान प्रहरी नेतृत्वको कार्यकालमा नेपाल प्रहरीमा दीर्घकालीन महत्व राख्ने कार्यको शुभारम्भ हुनेछ ।
नेपाल प्रहरीले ३० औं आईजीपीका रूपमा व्यावसायीक छवि बनाएका बसन्त बहादुर कुँवरलाई पाएको छ, जो सबै प्रहरीलाई प्रतिनिधित्व गर्ने प्रहरी प्रमुख हुन् । उनले प्रहरी प्रमुखको नेतृत्व सम्हालेको ६ महिना बढी भइसक्यो ।
आम सञ्चारमाध्यमले टिप्पणी गरेझैं आईजीपी कुँवरको कार्यावधि अत्यन्त चुनौतीपूर्ण त यसै छँदैछ । आफ्नो नियुक्तिको औचित्य सिद्ध गर्न उनले दुई वर्षको समयमा धेरै काम गरेर देखाउनुपर्नेछ ।
राजनीतिक समझदारी र सम्झौताको झमेलामा नपरेर उनले आफ्नो अधिकार प्रयोग गरी प्रहरी संगठनका सदस्यलाई समयमै परिवर्तनको अनुभूति दिलाउनु पहिलो काम हो । जुन कुरालाई आईजीपी कुँवरले निरन्तरता दिने प्रयास गरेका छन् । जसको लागि सबैले सहयोग गर्नुपर्ने हुन्छ ।
प्रहरी महानिरीक्षक प्रोटोकलका हिसाबले राज्यको ५२ औं नम्बरमा भए पनि अधिकारका सन्दर्भमा शक्तिशाली पद हो । तर यो अधिकार हैकम जमाउन वा संगठनभित्र सर्वसत्तावाद लाद्न नभई नागरिकको सेवाका लागि कानुनले प्रदान गरेको हो ।
प्रायः आईजीपीहरूले कुर्सीमा आसीन भइसकेपछि कानुनको यस मर्मलाई बुझ्न नचाहेको देखिन्छ । आजको युगमा नेतृत्व नै नमुना बन्नुपर्ने हुँदा नेतृत्वकर्ताले आफूलाई सर्वशक्तिमान प्रभु ठान्ने र तजबिजी शैलीमा जे पनि गर्ने मानसिकता त्याग्नु सबभन्दा जरुरी हुन्छ ।
नेपाल प्रहरीमा जुन नेतृत्व आए पनि आईजीपीलाई माहुरीहरुको रानु जस्तो बनाएर वरिपरि घेरी बस्ने हजुरिया ज्यामी माहुरीहरूकोे एक यस्तो जमात छ, जसले सधैं आईजीपीको आडमा ‘डिफ्याक्टो’ बनेर स्रोत र शक्ति दुरुपयोग गरिरहेको छ । संगठनमा नयाँ कार्यको थालनी गर्न प्रहरी नेतृत्वले यस्ता ‘डिफ्याक्टो’हरुलाई निमिट्यान्न पार्न आवश्यक छ ।
यसअघिका आईजीपीहरुको कार्यकाल हेर्दा उक्त कुरा प्रष्ट नै छ । प्रहरी नेतृत्वले गर्ने हरेक निर्णयमा नेतृत्वकर्ता स्वयंले त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्छ ।
कुनै प्रहरी अधिकृत किन छिटो बढुवा भयो ? किन उसको सहकर्मीको बढुवा हुन सकेन ? कसैले के कुन आधारमा तीन-चारपटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पायो र कसैले किन एकपटक पनि यो अवसर पाएन ? यसको जवाफ प्रहरी नेतृत्वसँग हुनुपर्छ ।
यसका लागि संगठनले सरुवा र बढुवामा पारदर्शी र वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्न जरुरी छ । जुन कुराको लयमै देखिन्छन् आईजीपी कुँवर । केही समयअघि निस्केको प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवाले झनै उक्त कुरालाई पुष्टि गर्छ ।
व्यावसायीक छवि बोकेका प्रहरी प्रमुख भनेर सञ्चार जगतमा प्रशंसा बटुलिरहेका आईजीपी कुँवरले प्रहरी संगठनमा हुने सरुवा(बढुवामा बनमारा झारझैं फैलँदै गएको राजनीतिक प्रभाव र नियन्त्रण रोक्न जस्तोसुकै अग्निपरीक्षा पनि सहर्ष स्वीकार्नुपर्ने अवस्था छ ।
प्रहरी संगठनमा प्रभावशाली नेताको आशीर्वाद नभएसम्म र राजनीतिक दलालहरूको चाकडी नगरेसम्म सरुवा(बढुवा नहुने कहालीलाग्दो स्थिति छ । जुन स्थितिलाई सुधार गरी प्रहरीलाई व्यावसायिक बन्ने मार्गमा डोर्याउन उनले प्रचुर मात्रामा पसिना बगाउन जरुरी छ । यस कार्यका लागि उनलाई साथ दिने प्रहरी नेतृत्वको भावी पुस्ता तयार हुनुपर्छ ।
त्यस्तै नेपाल प्रहरीले लगाउने युनिर्फममा एकरूपता र गुणस्तर नहुनु संगठनले बेहोर्दै आएको अर्को विकराल समस्या हो । १० जना प्रहरीहरू सँगै उभिए भने तिनीहरूले लगाएको कपडाको रङ फरकफरक देखिन्छ । एउटै संगठनका सदस्यले लगाउने बर्दीमा यस्तो भिन्नता नहुनुपर्ने हो ।
व्यवस्थापनको कमजोरीका कारण नेपाल प्रहरीका सदस्यहरूले गुणस्तरीय बर्दी लगाउन नपाएको वर्षौं भइसकेको अवस्था छ । यसतर्फ वर्तमान नेतृत्वको तत्काल ध्यान जानपर्ने देखिएको छ । तर, अहिलेका प्रमुखप्रति आशा गर्नसक्ने ठाउँ चाहिँ छ ।
त्यस्तै आम जनताको प्रहरीका सम्बन्धमा प्रायः गुनासो हुन्छ । प्रहरी नागरिकसँग शिष्ट भाषाले बाल्दैन, दुव्र्यवहार गर्छ । तर त्यही प्रहरी आफूभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकृतलाई भने शब्दैपिच्छे हजुर ! का हजुर ! लगाइरहेको हुन्छ, मानौं यो उसको थेगो नै हो ।
कतिपय प्रहरी हाकिमहरू आफूमुनिका प्रहरी अधिकृत तथा जवानहरूले आफूलाई हजुर, आइस्योस्, गइस्योस्, खाइस्योस् नभनेर तपाईं, खानुहोस्, आउनुहोस्, जानुहोस् जस्ता आम जनताको भाषा प्रयोग गरेका खण्डमा राम्रो मान्दैनन् । नागरिक सेवा प्रदायक प्रहरीजस्तो संगठनमा जवानदेखि आईजीपीसम्मले जनताकै भाषा बोल्नुपर्छ ।
जसले गर्दा प्रहरीप्रति नागरिकको झनै विश्वास बढ्नेछ । त्यसैले राम्रो कामको सुरुवात गरेका आईजीपी कुँवरको खुट्टा तान्ने काम होइन, गल्ती भएको ठाउँमा सुधार्ने मौका दिनुपर्छ ।
