रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर मधेश प्रदेशस्तरमै ‘Best Traffic Police of the Month’ घोषित भएका छन्।
नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले प्रदेशका आठवटै जिल्लाको कार्यसम्पादन मूल्यांकनका आधारमा मगरलाई चैत्र महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो।
सोमबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख एसपी ज्ञानेन्द्र बहादुर बस्नेतले मगरलाई नगद १ हजार रुपैयाँसहित कदरपत्र प्रदान गर्दै सम्मान गरे। उनले मगरको कार्यशैली, अनुशासन र सक्रियतालाई सराहना गरेका थिए।
मगरले ट्राफिक व्यवस्थापनमा कडाइ र अनुशासनलाई सन्तुलित गर्दै नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि प्रभावकारी कारबाही गर्दै आएका छन्। साथै, स्थानीय तह तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै ट्राफिक सचेतनामूलक अभियानलाई निरन्तरता दिएका छन्।
पूर्व-पश्चिम राजमार्ग तथा चन्द्रपुर-गौर सडक खण्डमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, दुर्घटना सम्भावित क्षेत्रको पहिचान, स्पिड ब्रेकर र रिफ्लेक्टर जडानजस्ता उपायहरूले दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव परेको जनाइएको छ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसार प्रदान गरिएको उक्त सम्मानले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
