काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। उच्च स्रोतका अनुसार आवश्यक सबै कानुनी तथा प्रशासनिक तयारी पूरा भइसकेको छ र कागजातसमेत तयार अवस्थामा राखिएको छ।
दुवै नेताको निवास वरपर बाक्लो संख्यामा सुरक्षा परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना का सुरक्षाकर्मीहरू संयुक्त रूपमा खटिएका छन्।
नयाँ सरकार गठन भएसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल तीव्र बनाएका थिए। प्रहरी पक्षले भने औपचारिक लिखित आदेशको माग गरेको बताइएको छ।
यसैक्रममा मध्यरातमा कानुन मन्त्रालयका सचिवलाई समेत नक्सालस्थित प्रहरी मुख्यालयमा बोलाएर आवश्यक परामर्श गरिएको स्रोतको भनाइ छ।
उक्त आयोगले गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलन दमन प्रकरणबारे अनुसन्धान गर्दै प्रतिवेदन तयार पारेको थियो, जुन तत्कालीन अन्तरिम सरकारलाई बुझाइएको थियो। प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नभए पनि त्यसका अंशहरू भने सार्वजनिक भइसकेका छन्।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ।
शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले उक्त सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै घटनाक्रमले तीव्रता पाएको हो। गृह मन्त्रालय र सुरक्षा निकायबीच समन्वय बढाइँदै गएको छ भने पक्राउ प्रक्रिया छिट्टै अघि बढ्न सक्ने संकेत देखिएको छ।
