काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको पहलपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको गुमेको जग्गा पुनः प्रहरीकै नाममा कायम भएको छ।
सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रतिष्ठानकै नाममा कायम गर्ने निर्णय गरेको हो। सहरी विकास मन्त्रालय तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय अनुमोदन गरेको हो।
यसअघि २०७८ भदौ ९ गते उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा राख्ने निर्णय गरिएको थियो। तर आईजीपी कार्कीको निरन्तर पहल, समन्वय र प्रयासपछि उक्त निर्णय पुनरावलोकन हुँदै जग्गा फेरि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै नाममा फर्काइएको हो।
यो निर्णयले प्रहरी संगठनको संस्थागत सुदृढीकरण, तालिम पूर्वाधारको संरक्षण तथा दीर्घकालीन व्यावसायिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
