काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार आर.के. शर्माले आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने उद्घोष गरेका छन् ।
संघको ११औं महाधिवेशन तथा निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले अक्टोबर १३ तारिख शुक्रबार राजधानी काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुराको उद्घोष गरेका हुन् ।
‘मेरो कार्यकालमा फुटेको होईन, जुटेको एनआरएनए बन्नेछ,’ उनले भने, ‘यो मेरो पहिलो प्रतिबद्धता हो ।’ उनले थप जोड दिंदै भने, ‘हाम्रो कार्यकाल जम्मा २४ महिनाको हुन्छ । २४ महिनाका लागि २४ कार्यक्रमको खाका बनाएको छु । त्यतिमात्र होइन, प्रत्येक ३ महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु ।’
उनले वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आठ बुँदे कार्य योजना समेत जारी गरेका छन् ।
सीप विकास गर्ने, भाषा र कानुनी समस्यामा परेका श्रमिकहरुलाई निशुल्क कानुनी सेवाको व्यवस्था मिलाउने, वैदेशिक रोजगारका सम्भावना बोकेका थप देशहरुसँग श्रम सम्झौता गर्ने, श्रमिकहरुको संख्या बढी भएका देशहरुको एनसीसीमा नै श्रम डेस्क राख्ने र वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका योजनाहरु शर्माले सुनाए ।
उनले प्रवासमा रहेका श्रमिकहरुको आर्थिक स्थिति सुधार्न समेत पहल गर्ने प्रतिबद्धता जनाए ।
