काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्ररकणमा राहुल महरालाई थुनामा पठाउन आदेश भएको छ । उनी पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले राहुल महरालाई मुद्दाको पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो ।
सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान र उसको रायका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौंको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र काठमाडौंकै बौद्ध बस्ने निमा गुरूङलाई पनि अभियुक्त बनाइएको छ ।
यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ । छिरिङ यसअघिकै सुन तस्करी सम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरूङ फरार छन् ।
गत १० पुस २०७९ मा दुबईबाट आएको जहाजमा ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा सुन काठमाडौं भित्रिएको थियो ।
