काठमाडौं । कास्कीको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नौ जनामध्ये २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ७ जना धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत, कास्कीले पोखरा महानगरपालिका-१७ हनुमान टोलका छावा भन्ने सुशिल कार्की र पोखरा महानगरपालिका-५ मालोपटनका विनय गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
त्यस्तै अदालतले पोखरा-४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा-५ मालेपाटनका अभिनाश गुरुङ, प्रस्याङका अरुण गुरुङ, पोखरा-९ नयाँबजारका नितेश गुरुङ, नागढुंगाका विवेक गुरुङ, पोखरा-२० भलामका मनिष थापा र पोखरा-११ फुलबारीका प्रदीप गुरुङलाई चाहिँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले मणिपाल अस्पतालका चिकित्सकहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नौ जनामध्ये २ जना पुर्पक्ष र ७ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको पुष्टि गरे ।
एसपी थापाले भने, ‘धरौटीमा छाड्न आदेश भएका सात जना १/१ लाख रुपैयाँ तिरेर तारेखमा छुटिसकेका छन् भने अन्य दुई जनालाई कारागारमा पठाइएको छ ।’ उक्त घटनामा अन्य केही व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको एसपी थापाले बताए ।
गत ८ असोजमा लमजुङबाट उपचारका लागि ल्याइएकी ५७ वर्षीया सुकमाया दुराको मृत्युपछि मणिपालमा झडप भएको थियो । डाक्टरको लापरवाहीले सुकमायाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि नै हातपात गरेका थिए ।
मृत्युको कारण खुलाउनुपर्ने भन्दै अस्पतालमा तोडफोडसँगै चिकित्सकमाथि हातपात नै गरेपछि डाक्टरहरुले आन्दोलन सुरु गरेका थिए । घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै डाक्टरहरुले सेवा नै अवरुद्ध पारेका थिए ।
त्यसपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने सहमतिसँगै उनीहरु सेवामा फर्किएका थिए । सोही क्रममा कास्की प्रहरीले आक्रमणमा संलग्न भएको अरोपमा तत्कालै मालेपाटनका विनय गुरुङलाई पक्राउ गरेको थियो ।
त्यसपछि क्रमःश अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरेको हो । पक्राउ परेपछि प्रहरीले उनीहरुविरुद्ध स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०२६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा मुद्दा चलाएको थियो ।
