काठमाडौं । इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव कानुनी प्रक्रिया पूरा गरेपछि ल्याइने भएको छ ।
इजरायलबाट २५४ नेपाली विद्यार्थी ल्याएर शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरणपछि पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले यस्तो जानकारी दिएका हुन् ।
उनले भने, ‘अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौं ।’
उनले इजरायलबाट शव ल्याउन समस्या नरहेको जनाएका छन् । उनले यसका लागि केही समय धैर्य गर्नै अनुरोधसमेत गरेका छन् ।
उनले शव ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि जानकारी दिए । हमास समूहको आक्रमणमा परेर गत शनिबार (असोज २० गते) १० नेपालीले ज्यान गुमाएका थिए ।
एकजना बेपत्ता छन् भने तीनजनाको इजरायलमै उपचार भइरहेको छ ।
