काठमाडौं । यतिबेला तीनवटै सुरक्षा निकायका प्रमुख देशबाहिर बाहिर छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख देशबाहिर रहेका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर बेलायतमा छन् भने सशस्त्र आईजी राजु अर्याल अमेरिका पुगेका छन् ।
गत आइतबार बेलायत प्रस्थान गरेका प्रधानसेनापति शर्मा आउँदो शनिवार स्वदेश फर्किने कार्यक्रम छ । प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कार्यभार सम्हालिरहेका छन् ।
त्यस्तै आईजी कुँवर प्रधानसेनापति बेलायत जानु एक दिनअघि बेलायत प्रस्थान गरेका थिए । गत शनिवार आईजी कुँवर बेलायत सरकारको निमन्त्रणामा सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।
आईजी कुँवरसँगै प्रहरी नायब महानिरीक्षक (डिआईजी) विष्णुकुमार केसी र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) द्धय दानबहादुर कार्की र शेखर खनाल पनि बेलायत गएका छन् ।

आईजी कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए । तर, निमित्त प्रहरी प्रमुख राई पनि गत मंगलवार अमेरिका प्रस्थान गरिसकेका छन् ।
राईको टोलीमा डिआईजीद्वय दुर्गा सिंह र केदार ढकाल छन् । राईको अनुपस्थितिमा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दिपक थापाले सम्हाल्नेछन् ।
त्यसैगरी सशस्त्र आईजी अर्याल पनि अक्टोबर १४ देखि १७ सम्म अमेरिकाको सान डिएगोमा सञ्चालन हुन गइरहेको प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अमेरिका पुगेका छन् ।
अर्यालको टोलीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी पनि रहेका छन् । आईजी अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हालेका छन् ।
मुलुकमा विभिन्न प्रकारमा आन्दोलन चलिरहेका बेला तीन वटै सुरक्षा अङ्गका प्रमुख भने देशबाहिर रहेका हुन् । दुई साताअघि संसदीय समितिमा प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले पहिचान पक्षधरको आन्दोलनका कारण अत्यधिक सुरक्षा चुनौती रहेको रिपोर्टिङ गरेका थिए ।
