धादिङ । नजिकिँदै गएको दसैं, तिहार र छठ पर्वलाई समेत लक्षित गरेर धादिङ प्रहरीले बिशेष सुरक्षा अभियान चलाउने भएको छ । उक्त समयमा जिल्लाभित्र कार्यरत ९० प्रतिशत प्रहरी कर्मचारीले ड्युटी गर्ने बताइएको छ ।
धादिङवासीको शान्तिसुरक्षा चुस्त र प्रभावकारी बनाउन शंकास्पद गतिविधिको सम्बन्धमा सूचना पाएको १०/१५मिनेटभित्र प्रहरी सेवा पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
सूचना आएको केही समयमै प्रहरीसेवा उपलब्ध हुने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र बताउँछन् । त्यस्तो सेवा लिनका लागि धादिङवासीले तत्काल प्रहरी कन्ट्रोल–१०० मा फोन गर्नुपर्ने एसपी मिश्रले बताए ।
‘पहाडी भेगहरु पनि थुप्रै रहेका छन् । जसकारण बाटोको समस्या छ । त्यहि पनि मिलाएर व्यवस्था गरेका छौं,’ उनी भन्छन्, ‘सहरी क्षेत्रमा चाहिँ सूचना पाएको ५ मिनेटमा प्रहरी पुग्नेगरी परिचालन गरिएको छ ।’
अपराध भइहाले पनि त्यसको सूचना तत्काल नजिकको प्रहरी कार्यालय तथा प्रहरी कन्ट्रोलमा गरिदिए प्रहरीलाई अपराध नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने अपेक्षा उनले व्यक्त गरे ।
त्यस्तै राजमार्ग क्षेत्रमा हुने गरेको चोरी डकैती, लुटपाट र गुण्डागर्दी जस्ता अपराधिक क्रियाकलापहरु न्यूनीकरण गर्न टोली टोली बनाएर प्रहरी कर्मचारी परिचालन गरिएको एसपी मिश्रले जानकारी दिए ।
राजमार्ग क्षेत्रहरुमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न चार्डपर्वको समयमा सादा पोसाकमा समेत प्रहरी व्यापक रुपमा परिचालन गर्ने तयारी रहेको एसपी मिश्र बताउँछन् ।
बैंक तथा वित्तिय संस्था, व्यापारीक केन्द्रहरुमा निगरानी तथा पैदल गस्ती परिचालन गरिनेछ । एसपी मिश्र भन्छन्, ‘त्यस्तो भीडभाड हुने ठाउँहरुको पहिचान गरेर सादा पोसाकमा प्रहरी परिचालन गरेका छौं ।’
