काठमाडौं । प्रहरी वृत्त लैनचौर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलको आयोजनामा जनचेतनामूलक अग्नि सुरक्षा प्रदर्शनी तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
काठमाडौं महानगरपालिका-१६, लैनचौरमा निमित्त प्रहरी महानिरीक्षक तथा उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको उपस्थितिमा कार्यक्रम भएको हो ।
विजया दशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्री, नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीका प्रमुख एसएसपी डम्बर विकको उपस्थिति थियो ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग काठमाडौं प्रमुख सहअनुसन्धान निर्देशक विकास पाण्डे, सशस्त्र प्रहरी बल, नेपाल गण हेडक्वार्टर विपद उद्धार २० नं. गण सिनामंगल प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पूर्णबहादुर साउद, काठमाडौं महानगरपालिका-२६ का वडाध्यक्ष प्रहरी कर्मचारीहरू, स्थानीय, जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूलगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीका प्रहरी कर्मचारीले जनचेतनामूलक अग्नि सुरक्षा प्रदर्शनी प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विधार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
